बुटवलमा तोडफोड : कांग्रेस नेता खाँणको घरदेखि विभिन्न पार्टी कार्यालयमाथि आक्रमण
बुटवल-नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड भएको छ। ‘जेनजी’ आन्दोलनमा संलग्न प्रदर्शनकारीको समूहले सोमबार तिलोत्तमा नगरपालिका–४, मणिग्रामस्थित खाँणको निवासमा आक्रमण गरी क्षति पुर्याएका हुन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीले घटनाको पुष्टि गर्दै तोडफोडबारे जानकारी आएको बताए। उनका अनुसार, प्रदर्शनकारीले कांग्रेस मात्र नभई अन्य दलका पार्टी कार्यालयहरूमा समेत आक्रमण गरेका छन्।
भैरहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालय, बुटवलस्थित एमाले पार्टी कार्यालय तथा कोटिहवास्थित एमाले कार्यालयमा समेत प्रदर्शनकारीले ढुंगामुढा गरी तोडफोड गरेको प्रहरीले जनाएको छ।
हाल घटनास्थलमा थप अप्रिय परिस्थिति नहोस् भन्नका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












