आज राति नेपालबाट खग्रास चन्द्रग्रहण देखिँदै,वैज्ञानिकले नाङ्गो आँखाले हेर्न आह्वान
काठमाडौं।भाद्र शुक्ल पूर्णिमाका दिन आज राति नेपालभर खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०:११ बजे सुरु भई मध्यरात ११:५६ बजे शिखरमा पुग्नेछ र बिहान १:४१ बजे सकिनेछ।
प्रा. शम्भुप्रसाद ढकालका अनुसार करिब साढे तीन घण्टासम्म काठमाडौंसहित सम्पूर्ण नेपालबाट चन्द्रग्रहण प्रत्यक्ष देख्न सकिनेछ। यस अवधिमा पृथ्वीको छायाँले चन्द्रमालाई पूर्ण रूपमा ढाक्ने भएकाले चन्द्रमा रातो देखिनेछ, जसलाई “रक्तिम चन्द्र” पनि भनिन्छ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा देशभरबाट ग्रहण स्पष्ट रूपमा देख्न सकिने जनाएको छ। चन्द्रग्रहण हेर्न टेलिस्कोप वा दुरबिन प्रयोग गर्न सकिने भए पनि नाङ्गो आँखाले हेर्दा पनि कुनै हानी नहुने विज्ञहरूले बताएका छन्।
समितिले यो ग्रहण विसं २०८२ को पहिलो चन्द्रग्रहण भएको र यसै वर्ष फागुन शुक्ल पूर्णिमामा अर्को खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी दिएको छ।
धार्मिक दृष्टिले ग्रहणका समयमा स्नान, ध्यान, जप र पाठ गर्न फलदायी हुने शास्त्रीय उल्लेख छ। तर वैज्ञानिक दृष्टिकोणले ग्रहणलाई नाङ्गो आँखाले निडर भएर हेर्न सकिने, मानव जीवनमा कुनै नकारात्मक प्रभाव नपर्ने प्रमाणित तथ्याङ्क रहेको बताइएको छ।
ग्रहण नेपालसहित युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिने भए पनि उत्तर र दक्षिण अमेरिकाबाट भने देखिँदैन।












