नेपालमा पहिलोपटक ‘आर्ट एण्ड कल्चर फेस्टिभल–२०२५’ सुरु – Sagarmathapana:: Online News Portal

नेपालमा पहिलोपटक ‘आर्ट एण्ड कल्चर फेस्टिभल–२०२५’ सुरु

   २०८२ भाद्र २१ गते  

काठमाडौं।नेपालमा पहिलोपटक आयोजना गरिएको ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल–२०२५’ शुक्रबारबाट सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्‌मा एक विशेष समारोहमार्फत महोत्सवको उद्घाटन गरे।

उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनलाई नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताए । उनले लोकतन्त्रले सबैलाई समान अवसर दिने उल्लेख गर्दै प्राचीन धरोहर र संस्कृतिको जगेर्ना गर्नु सबैको साझा दायित्व भएकोमा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको सांस्कृतिक पहिचान चिनाउने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । उनले यसलाई आगामी वर्षदेखि नियमित वार्षिक पर्वका रूपमा आयोजना गरिने जानकारी पनि दिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई केवल हिमाल र साहसिक पर्यटनको गन्तव्य मात्र नभई ‘कला र सांस्कृतिक धरोहरको भण्डार’ का रूपमा पनि प्रस्तुत गर्न महोत्सवले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले यस्ता पर्वहरूले नेपाललाई अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने बताएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर र किर्तिपुरका विभिन्न स्थानमा २३ दिनसम्म चल्ने यो महोत्सवमा १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिएका छन् । साथै, सांस्कृतिक प्रदर्शनी, संगीत–नृत्य, परम्परागत परिकार र जीवित संस्कृतिको अनुभवजस्ता ४० भन्दा बढी कार्यक्रम हुनेछन् ।

नेपाल पर्यटन बोर्ड, नेपाल आर्ट काउन्सिल र नेपाल होटल व्यवसायी संघको संयुक्त आयोजना तथा निजी क्षेत्रको सहकार्यमा सुरु भएको महोत्सव असोज ११ गतेसम्म चल्नेछ । “नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित सुरु गरिएको फेस्टिभलले उपत्यकाका पुराना शहरलाई उत्सवमय बनाउने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै