दक्षिण कोरियाको ई–७ भिसा प्रक्रियामा भ्रामक प्रचार, विभागले श्रमिकलाई सचेत रहन आग्रह – Sagarmathapana:: Online News Portal

दक्षिण कोरियाको ई–७ भिसा प्रक्रियामा भ्रामक प्रचार, विभागले श्रमिकलाई सचेत रहन आग्रह

   २०८२ भाद्र १९ गते  

काठमाडौं।वैदेशिक रोजगार विभागले केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत गैरकानूनी रुपमा रकम असुली गर्दै ‘ई–७ भिसामा दक्षिण कोरिया पठाइदिन्छु’ भन्ने भ्रामक प्रचार फैलाइरहेको भन्दै श्रमिकलाई सचेत रहन आग्रह गरेको छ।

बुधबार विभागले जारी गरेको विज्ञप्तिमा हालसम्म कुनै पनि संस्था वा व्यक्तिलाई ई–७ भिसा प्रक्रिया सञ्चालन गर्ने अनुमति नदिइएको स्पष्ट पारिएको छ। विभागका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारित गरेको ‘गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८०’ लाई संशोधनसहित अन्तिमरुपमा २०८२ साउन १३ गते स्वीकृत गरिए पनि सो कार्यविधिअनुसार मागपत्र प्रमाणीकरणका लागि अहिलेसम्म कुनै आवेदन प्राप्त भएको छैन।

यसअघि कोरियास्थित नेपाली राजदूतावासले समेत ई–७ भिसासम्बन्धी औपचारिक प्रक्रिया अझै अघि नबढेको जानकारी गराइसकेको छ।

विभागले विदेश जान इच्छुक श्रमिकलाई अफवाह वा व्यक्तिगत आश्वासनमा भर नपरी सरकारी निकायबाट मात्र प्राप्त हुने सूचना र प्रक्रियामा भरोसा गर्न आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै