नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित
काठमाडौं।नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन् । आइतबार पोखरामा सम्पन्न संघको ३०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनमार्फत चन्द अध्यक्षमा चयन भएका हुन् ।
हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालकसमेत रहेका चन्दले अध्यक्ष पदका लागि भएको निर्वाचनमा ३३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उग्रचण्डी ग्यासका सञ्चालक कृष्ण भक्त श्रेष्ठले १७ मत पाएका थिए । संघमा आवद्ध ५७ सदस्य उद्योगमध्ये ५० मतदाताले मात्र मतदानमा सहभागिता जनाएका थिए ।
अध्यक्ष बाहेकका पदाधिकारी भने सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । संघको १४ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रराज पौडेल (बाबा ग्यास प्रालि), उपाध्यक्षमा धर्मराज बर्तौला (गृहलक्ष्मी ग्यास प्रालि) र आषिश अग्रवाल ‘जाजोदिया’ (कावसनस इन्डट्रिज) निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा अमित अग्रवाल (चण्डेश्वरी ग्यास कम्पनी प्रालि), कोषाध्यक्षमा आयुष नेपाल (श्रीराम ग्यास उद्योग प्रालि), सचिवमा सुदिप घिमिरे (प्रिमा ग्यास उद्योग प्रालि) चयन भएका छन् । सदस्यहरूमा सुनिल सिन्हा (भेरी ग्यास), लोकहर्ष शाक्य (सहारा ग्यास), बिमल कालाखेती (लुम्बिनी ग्यास), राजेन्द्रप्रसाद दंगाल (सिताश्री ग्यास), विमला सुवेदी ढुङ्गाना (नोवेल ग्यास) र मनिष कुमार जोशी (पञ्चमहालक्ष्मी इण्डष्ट्रिज) निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण तथा पदस्थापन कार्यक्रम भने काठमाडौंमा गर्ने तयारी गरिएको संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।












