बैंककमाः युएनआईपी–ग्लोरी अवार्ड २०२५ सम्पन्न,२७ अन्तर्राष्ट्रिय र नेपाली व्यक्तित्व सम्मानित – Sagarmathapana:: Online News Portal

बैंककमाः युएनआईपी–ग्लोरी अवार्ड २०२५ सम्पन्न,२७ अन्तर्राष्ट्रिय र नेपाली व्यक्तित्व सम्मानित

   २०८२ भाद्र १८ गते  

काठमाडौं।थाइल्याण्डको राजधानी बैंकक स्थित प्रिन्सटन होटलमा युएनआईपी–युएन ग्लोरी अवार्ड २०२५ तथा ग्लोबल मिट भव्य रूपमा सम्पन्न भएको छ। युनाइटेड नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालद्वारा संयुक्त रूपमा आयोजना गरिएको यो कार्यक्रम विश्व शान्ति यात्रा तथा एक सातासम्म चल्ने विशेष ग्लोबल मिट अन्तर्गत राखिएको हो।

कार्यक्रममा नौ भन्दा बढी मुलुकका शान्तिवादी नेता, कूटनीतिज्ञ, मानवअधिकारकर्मी तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो। सो अवसरमा साहित्य, व्यवसाय, पर्यटन, सामाजिक सेवा, स्वास्थ्य, खेलकुद व्यवस्थापन, वातावरण, महिला सशक्तीकरणलगायत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने २७ जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार प्रदान गरिएको थियो।

यसैगरी, शान्ति र मानवताको क्षेत्रमा निरन्तर योगदान दिने १६ जना व्यक्तित्वलाई ‘शान्ति राजदूत प्रमाणपत्र’ प्रदान गरिएको थियो।

नेपालतर्फबाट सुरेन्द्र वाग्ले, सुचिता कफ्ले, सुमित्रा थापा, सावित्री थापा खनाल, कृष्णहरी अर्याल, गंगाबहादुर खड्का, सुमन चिमरिया, दावा गुम्बो तामाङ, छेवाङ दोर्जे तामाङ, हेराकाजी महर्जन, अशेष कुमार बुढाथोकी, विवेक पौडेल र कुमारप्रसाद चौलागाईं उत्कृष्टता पुरस्कारबाट सम्मानित भए।

समारोहमा वक्ताहरूले शान्ति, एकता र सहकार्यमा जोड दिएका थिए। ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले कला, संस्कृति र सञ्चारमाध्यमले सीमा नाघ्ने शक्ति भएको उल्लेख गर्दै यसले विश्व शान्ति र समृद्धिको बाटो देखाउने धारणा राखे।

युएनआईपी नेपाल च्याप्टरका अध्यक्ष भिक्षु डा. राजु लामा पी. कोंन्दनले शान्ति अभ्यास कुनै सिमानामा सीमित नभई सम्पूर्ण समुदायमा समान रूपमा हुनुपर्ने बताए। कार्यक्रममा सहभागीहरूले भगवान बुद्धसम्बन्धी वृत्तचित्र समेत अवलोकन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै