हङकङमा ‘गोरखा फाइनान्स लिमिटेड’को भव्य शुभारम्भ
हङकङ।नेपाली समुदायको पहलमा स्थापना गरिएको ‘गोरखा फाइनान्स लिमिटेड’को औपचारिक शुभारम्भ गरिएको छ। चिम सा शुईस्थित YMCA Tower को विशेष हलमा आयोजित भव्य समारोहमा नबिल बैंक लिमिटेड नेपालका सीइओ मनोज कुमार ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले नेपालमा थुप्रै वित्तीय संस्थाहरू धरासयी भइरहेको उदाहरण प्रस्तुत गर्दै लगानी सुरक्षित गर्नका लागि सावधानीपूर्वक योजना बनाउनुपर्ने सुझाव दिनुभयो।



हङकङमा रहेका नेपाली समुदायका सहयोग र सुझावका आधारमा यो फाइनान्स सुरु गरिएको सञ्चालक डीके दाहालले बताउनुभयो। उहाँले भने, “हङकङमा नेपालीहरूको आफ्नै बैंक होस् भन्ने हाम्रो सपना थियो, आज त्यो प्रारम्भिक कदम अघि बढेको छ।”
कार्यक्रममा हङकङमा आवद्ध विभिन्न सामाजिक, व्यावसायिक तथा संस्थागत व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सञ्चालक मण्डलमा डिके दाहाल र आकाश बन्जारा लगायतको नेतृत्व रहेको छ।
यस अवसरमा सञ्चालक दाहाल र बन्जारालाई शुभकामना तथा बधाई दिइएको थियो।














