काठमाडौंमा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल
काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। नेपालले आगामी भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेर एएफसी एसियन कप छनोटको तयारी गर्नेछ।
एन्फाका अनुसार दुवै खेल फिफाको अन्तर्राष्ट्रिय म्याच विन्डो अन्तर्गत पर्छन्। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले यसअघि नै किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरिसकेका छन्।
एन्फाले पत्रकार सम्मेलनमार्फत टिकट दर सार्वजनिक गर्दै सामान्य प्यारापिटका लागि ५०० रुपैयाँ र भिआईपीतर्फका लागि १,००० रुपैयाँ तोकेको छ। टिकटको सम्पूर्ण स्वामित्व एन्फाकै हुने जनाएको छ।
खेलहरूको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमार्फत हुने छ। बंगलादेशी टोली आगामी बुधबार काठमाडौं आउने एन्फाले जनाएको छ।












