काठमाडौं महानगर प्रहरी दिवसमा मेयर शाहद्वारा प्रशंसा – Sagarmathapana:: Online News Portal

काठमाडौं महानगर प्रहरी दिवसमा मेयर शाहद्वारा प्रशंसा

   २०८२ भाद्र १५ गते  

काठमाडौं।काठमाडौं महानगर प्रहरीको ३४औं स्थापना दिवसका अवसरमा मेयर बालेन्द्र शाह (बालेन) ले महानगर प्रहरीको कार्यप्रति प्रशंसा व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाको पहिचान बनाउन नगर प्रहरीले महत्वपूर्ण योगदान दिएको बताए ।

मेयर शाहका अनुसार सडक पेटी अतिक्रमण नियन्त्रण, अनधिकृत संरचना हटाउने र यातायात व्यवस्थापनमा महानगर प्रहरी सक्रिय रूपमा खटिँदै आएको छ । उनले थपे, “नगर प्रहरीको प्रयासले काठमाडौंलाई अनुशासित र व्यवस्थित महानगर बनाउन मद्दत पुगेको छ ।”

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले नगर प्रहरीलाई व्यक्तिको नभई संस्थाको प्रतिनिधिको हैसियतमा काम गर्न आग्रह गरिन् ।

स्थापना दिवसको अवसरमा स्वयम्भूनाथ र वसन्तपुर दरबार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो भने विभिन्न स्थानमा वृक्षारोपण पनि गरिएको थियो ।

वि.सं. २०५० भदौ १४ गते स्थापना भएको काठमाडौं महानगर प्रहरीमा हाल ३६२ जना कार्यरत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै