२८ प्रतिभा फाइनलमा,अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने तयारी
काठमाडौं।राजधानीमा सम्पन्न अडिसनमार्फत ‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ जना बालबालिका र युवाहरू अन्तिम प्रतिस्पर्धामा प्रवेश गरेका छन्।
९० भन्दा बढी सहभागीले गायन, नृत्य, अभिनयलगायत विभिन्न विधामा आफ्नो कला प्रस्तुत गरेका अडिसनबाट छनोट भएका फाइनलिस्टले अब राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्नेछन्।
इभेन्ट डाइरेक्टर रमेश जंग शाहीका अनुसार प्रतियोगिता नेपाली प्रतिभा र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने महत्वपूर्ण प्लेटफर्म बन्नेछ। उनले भने, “यो प्रतिस्पर्धाले नेपाललाई कला र फेशनको विश्वमञ्चमा उजागर गर्ने अवसर दिनेछ।”
फाइनलमा पुग्नेहरूमा गोकुल पोखरेल, राजन बराइली, परिष्णा क्षेत्री, प्रमिशा तामाङ, पुष्पाञ्जली भट्टराई, मनोग्य शर्मा, रुकेश गिरी, आशु ढकाल, प्रियांशु न्यौपाने, प्रीति परियार, नम्रता मैनाली, समीप न्यौपाने, विज–इ–वन, अर्पणा घतानि, सोफिया विष्ट, सुस्मिता नेपाली, विवेक दनुवार, नमुना शाही, रितु सुनार, आँचल तामाङ, रोबिया आचार्य, श्रेया रौनियार, कल्पना महतो, अर्नव लकन्दरी, कुसुम भण्डारी, अल्विन खनाल, रुथ देवी र आयुष घिमिरे छन्।
आगामी अक्टोबर ३० देखि नोभेम्बर ४ सम्म टर्कीको एन्टाल्यामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता तथा फेशन वीकमा विजेताले नेपाललाई आधिकारिक प्रतिनिधित्व गर्नेछन्।
प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् भने नेशनल डाइरेक्टर प्रमिला सिलवाल रहनेछन्।
निर्णायकहरूको मूल्याङ्कनसँगै जिनो पे मार्फत हुने सार्वजनिक भोटिङको आधारमा विजेता तय हुनेछ। पहिलो राष्ट्रिय ट्यालेन्ट शो भदौ १४ गते आयोजना हुने तय भएको आयोजकले जनाएको छ।












