सहकारी ठगी प्रकरण : रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथि आज सुनुवाइ
काठमाडौँ।सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिएको रिहाइसम्बन्धी निवेदनमाथि आज उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ।
न्यायाधीश सागर विष्टको इजलासमा पेश भएको यो मुद्दामा लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरिसकेको भन्दै थुनामुक्त गर्न माग गरेका छन्। उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत निवेदनसहित पेश गरेका थिए।
यसअघि रुपन्देही जिल्ला अदालतले भने लामिछानेको निवेदन खारेज गर्दै रिहा गर्न अस्वीकार गरेको थियो। जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते भएको सुनुवाइमा, उनको भागमा कति बिगो पर्ने भन्ने सुनिश्चित नभएकाले धरौटीमा रिहा गर्न नमिल्ने आदेश दिएको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ। त्यसमा रविको भाग बराबर रकम दाखिला भए पनि अदालती आदेशअनुसार उनी अझै थुनामा राखिएका छन्।
यसअघि रुपन्देही अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको भए पनि उच्च र सर्वोच्च अदालतले पुनः थुनामै राख्ने आदेश दिएका कारण उनी अहिले ललितपुरको नख्खु कारागारमा रहेका छन्।
आजको सुनुवाइमा अदालतले कस्तो आदेश दिने भन्ने विषयमा ध्यान केन्द्रित भएको छ।












