छायांकार शैलेन्द्रध्वज कार्कीको निर्देशनमा ‘पोखरेली मसिनो’ घोषणा, बडा दशैंमा रिलिज हुने – Sagarmathapana:: Online News Portal

छायांकार शैलेन्द्रध्वज कार्कीको निर्देशनमा ‘पोखरेली मसिनो’ घोषणा, बडा दशैंमा रिलिज हुने

   २०८२ भाद्र ११ गते  

काठमाडौँ।प्रख्यात छायांकार शैलेन्द्रध्वज कार्कीले नयाँ चलचित्र ‘पोखरेली मसिनो’ निर्देशन गर्ने भएका छन् । बुधबारदेखि पोखरामा सुटिङ सुरु हुने यो चलचित्र कार्कीको डेब्यु निर्देशन हो ।

सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा विधिवत् पूजाआजासहित चलचित्रको शुभमुहूर्त सम्पन्न भएको छ । सामाजिक कथामा आधारित यस फिल्ममा बाबु–छोरीको सम्बन्ध र संघर्षलाई मुख्य कथावस्तु बनाइनेछ । चलचित्र कार्की र उनकी पत्नी अभिनेत्री शान्ति गिरीको संयुक्त निर्देशनमा बन्नेछ भने निर्माण कार्य कार्कीले आफैं गर्ने भएका छन् ।

कार्कीले लोकप्रिय चामल प्रजाति मनसरा पछि अर्को प्रजाति पोखरेली मसिनोको नाम शीर्षकमा राखेर चलचित्र निर्माण गर्न लागेका हुन् । फिल्मको लेखन शान्ति गिरीले गरेकी छन् भने पटकथा शैलेन्द्र–शान्तिको रहनेछ ।

शुभमुहूर्त कार्यक्रममा निर्माता/निर्देशक दिपेन्द्र गौचन, कलाकार टिका पहाडी, परिक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बा लगायतको उपस्थिति रहेको थियो । सुटिङका लागि ३० दिनको तालिका तय गरिएको छ ।

चलचित्रमा टिका पहाडी, प्रवीण खतिवडा, परिक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी र हिउँवाला गौतम लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

आगामी बडा दशैंलाई लक्षित गरी रिलिज गर्न लागिएको फिल्ममा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्कीकै छायांकन (DOP) र निमेष श्रेष्ठको सम्पादन रहनेछ । करिब तीन करोड रुपियाँको लगानीमा यो चलचित्र निर्माण हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै