काठमाडौंमा कबाड व्यवसायीको आन्दोलन,महानगर कार्यालय घेराउ – Sagarmathapana:: Online News Portal

काठमाडौंमा कबाड व्यवसायीको आन्दोलन,महानगर कार्यालय घेराउ

   २०८२ भाद्र ९ गते  

काठमाडौं।काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कबाड व्यवसायीहरुले आज काठमाडौंमा प्रदर्शन गर्दै कमलादीस्थित महानगरको कार्यालय घेराउ गरेका छन् । सर्वोच्च अदालतको आदेश विपरित मेयर बालेन शाहले कबाड व्यवसायमाथि तोडफोड र दमन गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा भृकुटीमण्डपबाट निस्केको जुलुसले नाराबाजी गर्दै महानगर कार्यालय पुगेर घेराउ गरेको हो । प्रदर्शनकारीहरुले “बालेन चोर देश छोड”, “व्यवसायमाथिको अत्याचार बन्द गर”, “अदालतको आदेश पालना गर” जस्ता नारा लगाएका थिए ।

संघर्ष समितिले ५ बुँदे माग राख्दै आन्दोलन सुरु गरेको जनाएको छ । उनीहरुको मुख्य मागमा–

व्यवसाय गर्न पाउने संवैधानिक अधिकारको ग्यारेन्टी,

महानगर प्रहरीले गरेको कुटपिट, अपहरण र संरचना भत्काउने काम तत्काल रोक्नुपर्ने,

संलग्न प्रहरीलाई कानुनी कारबाही गर्ने,

कबाड व्यवसायी, संकलक र मजदुरको ज्यानधनको सुरक्षा सुनिश्चित गर्ने,

विगत दुई वर्षमा पुर्याइएको क्षतिपूर्ति दिने लगायतका छन् ।

कबाड व्यवसायी ओमप्रकाश सिंहले अब निर्णायक आन्दोलनमा जाने चेतावनी दिँदै भने, “अब हामी पछाडि हट्दैनौं, कि गर्छौं कि मर्छौं भन्ने अवस्थामा पुगेका छौं ।” अध्यक्ष गुप्ताले मेयर बालेनले कबाड व्यवसायीलाई हटाउन १५ करोड रुपैयाँ टोकन मनी मागेको आरोप पनि लगाए ।

यसैबीच, आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतको आदेश विपरित महानगरले गरेको कारबाहीलाई असंवैधानिक र निन्दनीय बताएका छन् । उनले नेपाल सरकारलाई हस्तक्षेप गरी कबाड व्यवसायीको सुरक्षा र व्यवसाय सञ्चालन सुनिश्चित गर्न माग गरेका छन् ।

कबाड व्यवसायीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै