रिमै’ को ट्रेलर सार्वजनिक,गाउँले जीवन र संघर्षको कथा
काठमाडौँ।खिल बहादुर गुरुङको निर्देशनमा बनेको नेपाली चलचित्र ‘रिमै’ को ट्रेलर सार्वजनिक गरिएको छ । साढे तीन मिनेट लामो ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई उठान गरेको छ ।
ट्रेलरमा अभिनेता दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी प्रेम र परिवारबीचको संघर्षमा जुधिरहेका छन् । अभिनेत्री रिश्मा गुरुङसँगको रोमान्टिक केमिस्ट्रीले कथालाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथावाचनलाई अझ रोचक बनाएको छ ।
निर्देशक गुरुङले ‘रिमै’मार्फत परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको टकरावलाई प्रस्तुत गर्ने संकेत गरेका छन् । संवाद, छायांकन र ब्याकग्राउण्ड संगीतले गाउँको परिवेशलाई जीवन्त बनाएको दर्शकको प्रतिक्रिया छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ तथा बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको समेत अभिनय रहेको छ ।
चलचित्रको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्रध्वज कार्कीले गरेका हुन् । कार्यकारी निर्माता वीरवल घले रहेका छन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता र बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।
संगीत दीपक शर्मा र थानेश्वर गौतमले दिएका छन् भने मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई, प्रोडक्सन म्यानेजर बिष्णु मैनाली र सम्पादन मित्र डि गुरुङको रहेको छ ।
‘रिमै’ ट्रेलरले दर्शकमाझ उत्साह जगाएको छ र फिल्मले नेपाली चलचित्र क्षेत्रमा नयाँ कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।












