हरितालिका तीजमा ‘मन्त्र’ सार्वजनिक,‘रिमै’ प्रदर्शनको तयारीमा
काठमाडौं।खिल बहादुर गुरुङको निर्देशनमा बनेको नेपाली चलचित्र ‘मन्त्र’ हरितालिका तीजको अवसर पारेर युट्युबमार्फत सार्वजनिक गरिएको छ। यसअघि हल प्रदर्शनमा अपेक्षित व्यवसाय गर्न नसके पनि चलचित्रलाई समीक्षक र दर्शकबाट प्रशंसा प्राप्त भएको थियो।
सौगात मल्ल, बुद्दि तामाङ र दीया पुन मुख्य भूमिकामा रहेका यस चलचित्रको कथा मनास्लु क्षेत्र आसपासमा केन्द्रित छ। त्यहाँको परम्परागत ‘केटी भगाउने’ (छोपेर लैजाने) संस्कृतिलाई चलचित्रले मौलिक ढंगले प्रस्तुत गरेको छ। चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पा लगायतका कलाकारले दमदार अभिनय गरेका छन्।
‘मन्त्र’ को पटकथा साम्तेन भुटिया, सुनिल नेउरे र परिच्छेद सेनले लेखेका हुन्। चलचित्र रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको संयुक्त लगानीमा बनेको हो भने कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन्। सञ्जय लामाले छायांकन र मित्र डि. गुरुङले सम्पादन गरेको यस चलचित्रलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
यसैबीच, निर्देशक गुरुङकै अर्को चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने तयारी भइरहेको छ।












