थारू समुदायले बर्का अटवारी पर्व धुमधामका साथ मनाए – Sagarmathapana:: Online News Portal

थारू समुदायले बर्का अटवारी पर्व धुमधामका साथ मनाए

   २०८२ भाद्र ८ गते  

काठमाडौँ।पश्चिम तराईका विभिन्न जिल्लामा बसोबास गर्ने थारू समुदायले आज बर्का अटवारी पर्व धुमधामका साथ मनाएका छन् । दाजुभाइले दिदीबहिनीको दीर्घायु र सौभाग्यका लागि व्रत बसेर मनाइने यो पर्व थारू समुदायका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

पर्वअन्तर्गत शुक्रबार राति दर खाई शनिबार दिनभरि व्रत बस्ने, साँझ रोटी पकाएर दही, फलफूल लगायतका परिकारसहित अग्निदेवलाई चढाउने परम्परा रहिआएको छ । त्यसपछि मात्र पर्व सहभागीहरूले भोजन ग्रहण गर्ने गर्छन् । आइतबार बिहान भात तरकारी पकाई अग्रासन दिइसकेपछि मात्र खाने चलन रहेको छ ।

घोराही उपमहानगरपालिका–१७ की थारू अगुवा सरस्वती चौधरीका अनुसार अटवारी हिन्दूहरूको तीज पर्व सरह महत्त्वपूर्ण छ । उनले भनिन्, “यो पर्वमा दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्ने प्रचलन छ । यसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।”

पौराणिक कथाअनुसार पाँच पाण्डवमध्ये भीमले दाङका थारूराजा दङ्गीशरणलाई शत्रुसँगको युद्धमा साथ दिएका थिए । भोकैपेटमा समेत वीरता प्रदर्शन गर्दै शत्रुलाई पराजित गरेको सम्झनामा अटवारी पर्व मनाउने परम्परा सुरु भएको थारू संस्कृतिविद् अशोक चौधरीले बताए । समुदायले भीमजस्तै बलशाली बन्ने कामनासहित यो पर्व मनाउने गर्छन् ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले अटवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा आज सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै