मेरो भ्वाइस र डान्स युनिभर्स सिजन २ सम्पन्न : प्रथम र रिस्ता गुरुङ विजेता,विजेतालाई करोडौं पुरस्कार
काठमाडौं-गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य समारोहमार्फत गायन तथा नृत्य रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ का विजेताहरू घोषणा गरिएको छ। विश्वभर रहेका नेपाली प्रतिभाहरूको सहभागितासहित सम्पन्न प्रतियोगितामा विजेताहरूलाई करोडौं नगद पुरस्कार र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको हो।

गायनतर्फ मेरो भ्वाइस युनिभर्स सिजन २ को उपाधि जापान प्रथम गुरुङले जित्दै १ करोड रुपैयाँ नगदसहित ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरे। सोही प्रतियोगितामा हङकङबाट प्रतिस्पर्धा गरेका टोपराज तामाङ फर्स्ट रनरअप बन्दै २५ लाख, कतारबाट जुनु प्रसाई सेकेन्ड रनरअप बन्दै १० लाख, वाङ्गे गुरुङ थर्ड रनरअप बन्दै ६ लाख, झापाका प्रशान्त पोखरेल फोर्थ रनरअप बन्दै ५ लाख र दीपराज राई फिफ्थ रनरअप बन्दै ४ लाख नगद प्राप्त गर्न सफल भए।
यस्तै, नृत्यतर्फ मेरो डान्स युनिभर्स सिजन २ को विजेता उपाधि हङकङकी रिस्ता गुरुङले जित्दै १ करोड नगद, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन्। सिक्किमकी अमृता राई फर्स्ट रनरअप बन्दै २५ लाख, सितुन महर्जन सेकेन्ड रनरअप बन्दै १० लाख, सुरज सिंजाली मगर थर्ड रनरअप बन्दै ६ लाख, झापाकी सुसाना कोइराला फोर्थ रनरअप बन्दै ५ लाख र साजन पाख्रिन तामाङ फिफ्थ रनरअप बन्दै ४ लाख रुपैयाँ हात पार्न सफल भए।
कल्चरल ग्रुप डान्सतर्फ भुटानी शरणार्थी डान्स ग्रुपले विजेता उपाधि जित्दै २५ लाख नगद प्राप्त गर्यो। त्यस्तै, मनासलु वर्ल्ड कलेजले फर्स्ट रनरअप (१५ लाख), युमा महारानी नृत्य समूहले सेकेन्ड रनरअप, नेपाल प्रहरी कलाकार समूहले थर्ड रनरअप (५ लाख) र तरेली सांस्कृतिक ग्रुप परिवारले फोर्थ रनरअप (३ लाख) पुरस्कार जिते।
छ महिनादेखि सञ्चालन भइरहेको यो प्रतियोगिता इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका ले आयोजना गरेको हो। संस्थाका अध्यक्ष डिल्लि अधिकारीले कार्यक्रममार्फत विश्वभर छरिएका नेपाली प्रतिभालाई एउटै मञ्चमा ल्याउन सफल भएको बताए।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सब्बा गुरुङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसहित उच्च स्तरिय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
गायनतर्फ निर्णायकमा दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, लाबोनी चक्रवर्ती, शिव परियार र कर्मा ग्याल्छेन थिए भने नृत्यतर्फ मिथिला शर्मा, दिलीप रायमाझी, शङ्कर विसी, किरण थापा, कविराज गहतराज र शिल्पा मास्के निर्णायक बनेका थिए।
कार्यक्रम सञ्चालकका रूपमा नरेश भट्टराई, रीमा विश्वकर्मा, राजा राजेन्द्र पोखरेल र टेरिया मगर रहेका थिए।












