क्यानडामा हरितालिका तीज विशेष कार्यक्रम: नेपाली बालबालिकादेखि ख्यातिप्राप्त कलाकारसम्मको प्रस्तुति
टोरन्टो।हरितालिका तीजको अवसरमा सामाजिक संस्था सृजनशील नेपाली समाजले आगामी अगस्ट २४ गते आइतबार “हरितालिका तीज २०८२ : शुभकामना आदान–प्रदान तथा नाचगान कार्यक्रम”को आयोजना गर्ने भएको छ। कार्यक्रम टोरन्टोस्थित ‘द स्टेज म्याग्ना’, १३२० एल्समेयर रोड, स्कारब्रोमा हुनेछ।
नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका सत्यकला राई र गायक/संगीतकार भानु वलीको विशेष प्रस्तुति रहने उक्त तीज महोत्सव साँझ ६ बजे सुरु भई राति ११ बजे सम्पन्न हुने छ।
कार्यक्रमको प्रमुख आकर्षण भनेकै क्यानडामै हुर्केका करिब सय बालबालिकाद्वारा प्रस्तुत गरिने नेपाली मौलिक नृत्य र संगीत हो। तीन महिनादेखि निरन्तर प्रशिक्षण पाएका ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाले मादल, पियानो र नृत्य प्रस्तुत गर्नेछन्। सो प्रशिक्षणमा अपेक्षा पाण्डे, सौरभी पौड्याल, निष्ठा सापकोटा र विशेष केसीले योगदान गरेका थिए। बालबालिकाले आफ्नै धुन र स्वरमा नेपाल र क्यानडाको राष्ट्रिय गान प्रस्तुत गर्ने तयारी गरिएको छ।
तेस्तै, १४ जना महिलाद्वारा तीज गीतमा सामूहिक नृत्य समेत प्रस्तुत गरिने छ, जसको प्रशिक्षण स्वीकृति घिमिरेले गराएकी हुन्।
कार्यक्रमलाई विशेष बनाउन क्यानडा संघीय सरकारका पूर्वमन्त्रीदेखि हालका सांसद, मन्त्री र नगर काउन्सिलरहरूको समेत सहभागिता रहनेछ। संस्थाका संरक्षक शिशिर पाण्डेका अनुसार पूर्व आवास तथा कम्युनिटी मन्त्री नथानिएल एर्स्काइन-स्मिथ, सांसद सलमा जाहिद, शॉन चेन, अन्टारियोका मन्त्री रेमन्ड सुङ जुन चो, एमपीपी एन्ड्रिया हेजेल, काउन्सिलर माइकल थम्पसन र पार्थी कान्डभेललगायतलाई आधिकारिक निमन्त्रणा गरिएको छ।
टिकट दर वयस्कका लागि ३० डलर, ६ देखि १४ वर्षसम्मका लागि १५ डलर तोकिएको छ भने ६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि प्रवेश निशुल्क रहनेछ। सहभागी सबैलाई तीज पर्वको अवसरमा विशेष डिनर “दर” को पनि व्यवस्था गरिएको छ।
संस्थाका अध्यक्ष देबेन्द्र कार्कीले हालसम्म करिब ८० प्रतिशत टिकट बुकिङ भइसकेको जानकारी दिँदै कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई प्रत्यक्ष उपस्थित रहन आग्रह गरेका छन्।












