रास्वपाको हस्ताक्षर अभियानमा ३४ लाख हस्ताक्षर र ६५ लाख सहयोग संकलन भएको दाबी
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै सुरु गरेको हस्ताक्षर अभियान जारी राखेको छ । पार्टीका प्रवक्ता मनिष झाले शुक्रबार जानकारी दिँदै हालसम्म ३४ लाखभन्दा बढी हस्ताक्षर संकलन भएको र करिब ६५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको दाबी गरेका छन् ।
उनका अनुसार हस्ताक्षर अभियानलाई देशव्यापी अभियानको रूपमा अघि बढाइएको छ । पश्चिम नेपालदेखि सुरु भएको अभियानलाई पूर्वसम्म पुर्याउने योजना रहेको रास्वपाले जनाएको छ । “हिजो मात्र कञ्चनपुरबाट देश यात्रा प्रारम्भ भएको हो । यसको नेतृत्व पार्टी सचिवालय सदस्य दीपक बोहराले गर्नुभएको छ,” प्रवक्ता झाको भनाइ छ ।
यसबीच, सभापति रवि लामिछाने सहकारी प्रकरणमा पूर्पक्षका लागि हाल नख्खु कारागारमा रहेका छन् । यसअघि उनी रुपन्देही कारागारमा रहेका थिए भने भर्खरै मात्र स्थानान्तरण गरिएको हो ।
हिजो मात्र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कारागारमा पुगेर लामिछानेलाई भेटेका थिए ।












