लिपुलेक विवादमा अन्तर्राष्ट्रिय अदालत जानुपर्छः कूटनीतिज्ञ श्रेष्ठ – Sagarmathapana:: Online News Portal

लिपुलेक विवादमा अन्तर्राष्ट्रिय अदालत जानुपर्छः कूटनीतिज्ञ श्रेष्ठ

   २०८२ भाद्र ६ गते  

काठमाडौं।परराष्ट्रविद् एवं वरिष्ठ कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले लिपुलेकको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान नेपालले तयारी गर्नुपर्ने सुझाव दिएका छन् ।

भारत र चीनबीच लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमति नेपालको स्वामित्व अतिक्रमण गरेर गरिएको भन्दै उनले ऐतिहासिक प्रमाण र सुगौली सन्धिको नक्साको आधारमा नेपालले अन्तर्राष्ट्रिय कानुनी उपाय खोज्नुपर्ने बताए ।

श्रेष्ठले भने, “अब त्रिपक्षीय वार्ता गर्नुपर्छ, प्रमाणका आधारमा गर्नुपर्छ । नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्छ ।”

उनका अनुसार काली नदीको मुख्य मुहान लिम्पियाधुरासम्म नेपालको भूमि भएको तथ्य सुगौली सन्धिले नै स्पष्ट पारेको छ । त्यसैले भारत र चीनबीच भएको सहमतिले नेपालको सार्वभौम अधिकार कुण्ठित गर्न नहुने उनको भनाइ छ ।

श्रेष्ठले त्रिपक्षीय सहमतिबाट व्यापारिक मार्ग खुलाउन नेपाल तयार रहेको तर जग्गाको स्वामित्व (लालपुर्जा) भने नेपालकै हुनुपर्नेमा जोड दिए । “बाटो दिन्छौं हामी, तर हाम्रो ओनरशीप कायम हुनुपर्छ । त्यसपछि मात्रै सहमति सम्भव हुन्छ,” उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै