नेपालमा पहिलो महिला प्रहरी सम्मेलन सुरु – Sagarmathapana:: Online News Portal

नेपालमा पहिलो महिला प्रहरी सम्मेलन सुरु

   २०८२ भाद्र ६ गते  

काठमाडौँ।नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन आजदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने यस सम्मेलनमा देशभरका विभिन्न तह र जिम्मेवारी सम्हालिरहेका करिब २०० महिला प्रहरी सहभागी भएका छन् ।

गृहमन्त्री रमेश लेखकले सम्मेलन उद्घाटन गर्दै महिला प्रहरीको सहभागिता र नेतृत्व विस्तार सरकारको प्राथमिकता भएको बताए । उनले २० प्रतिशत आरक्षणभन्दा बढी वास्तविक सहभागिता पुर्‍याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै, “अब आरक्षणको संख्या होइन, वास्तविक उपस्थिति २० प्रतिशत पुर्‍याउनुपर्छ” भनेका छन् ।

सम्मेलनमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, महान्यायाधिवक्ता रमेश बडाल, महिला आयोगकी अध्यक्ष कमला पराजुली, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलगायत विशिष्ट व्यक्तित्वहरूले महिलाको भूमिका, चुनौती र अवसरबारे धारणा राखे ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीका अनुसार सम्मेलनमा महिला प्रहरीको भूमिका, लैङ्गिकमैत्री वातावरण, क्षमता अभिवृद्धि, स्वास्थ्य, वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

सम्मेलनमा सहभागी महिला प्रहरी तथा पूर्वप्रहरी अधिकारीहरूले आफ्नो अनुभव आदानप्रदान गर्ने र अन्त्यमा काठमाडौँ घोषणापत्र जारी हुने बताइएको छ ।

हाल नेपाल प्रहरीमा १२.४१ प्रतिशत महिला प्रहरी कार्यरत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै