ओली नै सर्वसम्मत अध्यक्ष, विद्यादेवी भण्डारीलाई सम्मान गर्नुपर्ने पौडेलको धारणा
काठमाडौँ।नेकपा (एमाले) का केन्द्रीय सदस्य रमेश पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यताबाट रोक्न नहुने बताएका छन्।
नेपाल प्रेस सोसाइटीले भक्तपुरमा मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले भण्डारीलाई इज्जत र सम्मानका साथ पार्टीभित्र स्थान दिनुपर्ने बताएका हुन्।
उनका अनुसार, “फेरि पनि हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली नै हो। उहाँलाई सर्वसम्मत अध्यक्ष बनाएर उहाँकै नेतृत्वमा मिसन ०८४ को चुनाव लड्नुपर्छ। तर विद्या भण्डारीको सदस्यता खुलेरै रहोस्, उहाँलाई अनेकौँ बहानामा अपमान नगरौँ। उहाँलाई छेक्दा एउटा समूह रिसाउँछ, त्यसैले छेक्ने काम गर्नु हुँदैन,” उनले भने।
पौडेलले एमालेभित्र ओलीको विकल्प खोज्ने भन्दा पनि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भण्डारीलाई पार्टीप्रति आस्था राख्ने नेतृका रूपमा स्मरण गर्दै, उनको योगदानको कदर गर्दै सम्मानपूर्वक भूमिका दिनु नेतृत्वको जिम्मेवारी भएको बताए।












