तीजलाई महिला सशक्तीकरण र संस्कृतिको संरक्षणको पर्वका रूपमा मनाउनुपर्नेमा पद्यम अर्यालको जोड – Sagarmathapana:: Online News Portal

तीजलाई महिला सशक्तीकरण र संस्कृतिको संरक्षणको पर्वका रूपमा मनाउनुपर्नेमा पद्यम अर्यालको जोड

   २०८२ भाद्र ५ गते  

काठमाडौँ।नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्यम अर्यालले तीजलाई केवल गीत–नृत्य र रमाइलोको पर्व मात्र नभई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृति संरक्षणको महत्वपूर्ण माध्यमका रूपमा मनाउनुपर्नेमा जोड दिनुभएको छ।

प्रेस चौतारी नेपालले राजधानीमा आयोजना गरेको ‘तीज मिलन’ कार्यक्रममा बोल्दै सचिव अर्यालले नयाँ पुस्ताले तीजको ऐतिहासिक महत्व जोगाउँदै यसको मूल्य र मौलिकता कायम राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

“हाम्रो पुस्ताले तीजलाई सामाजिक विभेदको पर्खाल भत्काउने अस्त्र बनायौं, अबको पुस्ताले यसलाई महिला सशक्तीकरण र संस्कृतिको संरक्षण गर्ने पर्वका रूपमा अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा नेकपा (एमाले) का प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तीजलाई दिदीबहिनीबीचको आत्मीयता साटासाट गर्ने पर्व भन्दै यसलाई लैङ्गिक समानताको सन्देश फैलाउने अवसरका रूपमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले तीजजस्ता पर्वले व्यवसायिक पत्रकारितामा सक्रिय महिलाबीच आत्मीयता र संवाद बढाउने अवसर दिन्छ भन्दै यसले सञ्चारकर्मी महिलाहरूलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, पत्रकार बबिता बस्नेतले तीज पर्वलाई महिला पत्रकारका मुद्दा उठाउने प्लेटफर्मका रूपमा उपयोग गर्न सकिने बताउँदै, खुशी, उत्साह र समानताको सन्देशसहित पर्वलाई मनाउनुपर्नेमा जोड दिनुभयो।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले वर्षभर व्यस्त रहने महिला पत्रकारहरूका लागि भेटघाट र भलाकुसारीको अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रमको समापनमा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो, जसले उपस्थित सहभागीलाई थप उत्साहित बनाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै