छायाँछबि तीज म्यूजिक अवार्ड–२०८२ : १२औं संस्करणको मनोनयन सार्वजनिक
काठमाडौं-तीजसँग सम्बन्धित नेपालकै जेठो अवार्डको रुपमा चिनिने छायाँछबि तीज म्यूजिक अवार्डको १२औं संस्करणका लागि मनोनयन सार्वजनिक गरिएको छ। २०७१ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो अवार्डलाई यस वर्ष अझ भव्य रुपमा प्रस्तुत गर्ने तयारी गरिएको आयोजक संस्था छायाँछबी क्रियसनका अध्यक्ष शान्तिप्रियले जानकारी दिए।
आगामी भाद्र ६ गते काठमाडौंको लेभीस गार्डेन, धुम्बाराहीमा हुने कार्यक्रममार्फत विजेताहरूलाई सम्मान गरिनेछ।
यस वर्ष प्रकाशित तीज सम्बन्धी गीतहरूले सहभागिता जनाएका छन्। अवार्डमा एरेन्जर, ध्वनी मिश्रण, छायांकन, सम्पादन, मोडल (महिला/पुरुष), नृत्य निर्देशन, भिडियो निर्देशन, शब्द, लय, गायन, युगल गायन, दोहोरी गायनलगायतका विभिन्न १५ भन्दा बढी विधामा मनोनयन गरिएको छ।
उत्कृष्ट तीज गीत एरेन्जरको मनोनयनमा श्यामश्वेत रसाइली (न त बने हिरोइन), सञ्जय श्रीपाल (शिरफूल हरायो रे), पवन विश्व (नजिक नजिक सरन), विपिन आचार्य (आइपुग्यो तीज), नरेन्द्र वियोगी (बामरी बसायो) रहेका छन्।
त्यस्तै उत्कृष्ट गायिकाको श्रेणीमा लक्ष्मी मल्ल, सरिता भारती, जुनु गौतम, जानु कुवर श्रेष्ठ र पुजन काफ्ले मनोनयनमा परेका छन्।
यसैगरी उत्कृष्ट तीज गीत मोडल (महिला) तर्फ यशु भट्टराई, निरुता शाही, नीति शाह, स्मारिका ढकाल र अञ्जलि अधिकारी, पुरुषतर्फ भने राजन अधिकारी, शंकर बि.सी, सञ्जय बुढाथोकी, भुवन के पोखरेल र जि.भी. चिरन प्रतिस्पर्धामा छन्।
आयोजकका अनुसार, कार्यक्रमले नेपाली मौलिक तीज गीत, नृत्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ।












