कांग्रेस–एमालेको सरकारले गलत कानून ल्याउँछ भन्नु नै कुण्ठा हो :ऋषिकेश पोखरेल – Sagarmathapana:: Online News Portal

कांग्रेस–एमालेको सरकारले गलत कानून ल्याउँछ भन्नु नै कुण्ठा हो :ऋषिकेश पोखरेल

   २०८२ भाद्र ४ गते  

काठमाडौं।प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का प्रभावशाली नेता ऋषिकेश पोखरेलले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले कुनै हालतमा गलत कानून नल्याउने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सञ्चार क्षेत्रमा आवश्यक कानूनी सुधार ल्याइने स्पष्ट गर्दै भने, “कांग्रेस र एमालेको सरकारले गलत कानून ल्याउँछ भन्नु नै कुण्ठा हो । सञ्चार जगतलाई लोकतान्त्रिक, मर्यादित र व्यवसायिक बनाउन कानून आवश्यक छ ।”

पोखरेलले लोकतन्त्र भनेको अराजकता वा अफवाह नभई सबैको अधिकार सुरक्षित गर्ने प्रक्रिया भएको बताए । उनले भने, “लोकतन्त्र भनेको संगठित प्रहार होइन । तपाईंको अधिकार पनि मैले सुरक्षित गर्न सक्नुपर्छ । हाम्रो सरकार जनताको अधिकार कुण्ठित गर्छ भन्ने अनुमान नै कुण्ठा हो ।”

कुलिङ पिरियडसम्बन्धी संशोधनमा एमाले सांसदले दिएको प्रस्तावलाई व्यक्तिगत धारणा भन्दै पोखरेल पन्छिए । उनले शिक्षा विधेयकसमेत सदनमार्फत पारित हुने विश्वास व्यक्त गर्दै भने, “यसअघि विधेयक किन अघि बढ्न सकेन ? अहिले सरकारले आवश्यक देखेर अघि बढाएको हो । त्यसलाई अरुलाई अरुचि भएको भनेर नागरिकलाई भ्रमित गर्नु गलत हो ।”

सांसद व्यक्तिगत रूपमा स्वतन्त्र नभई दलको मातहतमा रहने व्यवस्था रहेको भन्दै उनले दलको आदेशअनुसार नै आफ्नो हस्ताक्षर भएको बताए । पोखरेलले भने, “संसदीय व्यवस्थामा सांसद स्वतन्त्र हुँदैनन् । दल भन्दा माथि म छु भन्ने अराजकता हो ।

उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासमा चिठ्ठी पठाएको प्रसंग उठाउँदै उनले सोधपुछ गर्न नपाउने भन्ने प्रश्न उठाए । “यदि गलत भएको रहेछ भने दण्डनीय हुन्छ । बेइमानी कसैले गरेको छ भने कारबाही हुनैपर्छ,” पोखरेलले भने ।

सत्तारूढ दलका सांसदहरूले गरेको हस्ताक्षरलाई अनावश्यक रूपमा विवादमा नल्याउन आग्रह गर्दै उनले भने, “अनुमानको भरमा जनतालाई भ्रमित नगरौं । कुन रुपमा अघि बढ्छ, त्यो पछि थाहा हुन्छ । दलको उपस्थितिमा हस्ताक्षर गरेको मात्र हो ।”

पोखरेलले आजको राजनीतिक प्रवृत्ति परिवर्तन गर्न आवश्यक रहेको भन्दै चेतावनीसमेत दिए । उनका अनुसार, “आजको प्रवृत्ति बदल्न जरुरी छ । नत्र बदलिएको नेपाल प्राप्त गर्न कठिन हुन्छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै