कुवेतमा नेपालीको मृत्युबारे संसदमा चासो, उपसभामुख प्रकरणले पनि ततायो सदन – Sagarmathapana:: Online News Portal

कुवेतमा नेपालीको मृत्युबारे संसदमा चासो, उपसभामुख प्रकरणले पनि ततायो सदन

   २०८२ भाद्र ४ गते  

काठमाडौं।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउने प्रक्रिया र उपचाररत कामदारको स्वास्थ्य अवस्थाबारे सरकारलाई जानकारी गराउन माग गरेका छन्।

सांसद रमा कोइराला पौड्यालले कुवेतमा १२ नेपालीको निधन र केही गम्भीर उपचाररत रहेको जानकारी दिँदै सरकारलाई तत्काल सोधपुछ गरी संसद्मा विस्तृत विवरण पेस गर्न आग्रह गरिन्। त्यस्तै, सांसद जनार्दन शर्माले मृतकको शव नेपाल ल्याउन भइरहेको तयारी र बिरामीको अवस्थाबारे स्पष्टीकरण दिन माग गरे। उनले बाढीपहिरोले सडक सञ्जाल बिग्रिएको र जाजरकोटका भूकम्पपीडित अझै अस्थायी आवासमा बस्न बाध्य भएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए।

आजको बैठकमा उपसभामुख इन्दिरा रानामाथि महाअभियोगको प्रयासलाई लिएर प्रतिपक्ष सांसदहरूले सत्तारुढ दलमाथि षड्यन्त्रको आरोप लगाए। सांसद सन्तोष परियारले हस्ताक्षर संकलन गरेर सांसदहरूको विवेक बन्दी बनाउन खोजिएको भन्दै यस्तो गतिविधिले लोकतन्त्रमा खतरा पुग्ने चेतावनी दिए। राप्रपाका सांसद रोशन कार्कीले कांग्रेस र एमालेले खाली कागजमा हस्ताक्षर गराएको दाबी गर्दै सरकार संवैधानिक निकायमा आफ्ना मान्छे नियुक्त गर्न षड्यन्त्रमा लागेको आरोप लगाइन्।

आकस्मिक समयमा सांसदहरूले चट्याङ, महिला हिंसा, अपराध, बाघको आक्रमण, असुरक्षा र भूउपयोग नीतिलगायत विभिन्न स्थानीय समस्या उठाएका थिए। मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु र आठ जना घाइते भएको विषयमा सांसद महेशकुमार बर्तौलाले राहत बढाउन माग गरे। सांसद रुक्मिणी राना बराइलीले महिला हिंसा नियन्त्रणमा कडाइ आवश्यक रहेको बताइन्।

सांसद महेन्द्रराय यादव र डा अमरेशकुमार सिंहले सर्लाही र हरिपुर्वामा बढ्दो असुरक्षा र अपराध नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराए। त्यस्तै, सांसद अब्दुल खानले बर्दियामा बाघसहितका जंगली जनावरको आक्रमण रोक्न गम्भीर पहल गर्नुपर्ने बताए भने सांसद वासुदेव घिमिरेले अधिकांश पालिकाले अझै भूउपयोग नीति नबनाएको कारण जमिनको कित्ताकाट रोकिएको समस्या समाधान गर्न आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै