देश र जनताको पक्षमा लाग्ने सपुतलाई हुलाक टिकटमा ल्याइने : मन्त्री गुरुङ
काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताको पक्षमा योगदान गर्ने व्यक्तिलाई हुलाक टिकटमार्फत उजागर गरिने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित भीम बहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरण टाँस्ने कार्यक्रममा मन्त्री गुरुङले इतिहास र समाजमा योगदान गर्ने व्यक्तिहरूलाई खोजी–खोजी हुलाक टिकटमार्फत प्रकाशमा ल्याउने प्रतिवद्धता व्यक्त गरे।
उनले भने, “देश र जनताको पक्षमा लाग्ने सपुतलाई म खोजी–खोजी हुलाक टिकटमा प्रकाशन गर्छु। कतिपय व्यक्तिहरू सत्ताको पहुँचमा नहुँदा ओझेलमा पर्छन्। तर, उनीहरूको योगदानलाई लुकाउन मिल्दैन।”
मन्त्री गुरुङले हुलाक टिकटलाई केवल पत्राचारको साधन मात्र नभई राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान प्रस्तुत गर्ने माध्यमको रूपमा हेर्नुपर्ने बताए। उनले लोप हुँदै गएका वस्तु र स्थानहरूको संरक्षणमा पनि हुलाक टिकट महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
कार्यक्रममा उपस्थित अतिथिहरूले पनि भीम बहादुर पाँडेलाई राष्ट्र र जनताको पक्षमा समर्पित व्यक्तित्वका रूपमा स्मरण गर्दै, उनको योगदानलाई आगामी पुस्ताले सिक्नुपर्ने बताएका थिए।












