पाँच बुँदे आह्वानसहित हिन्दुकुश हिमालय सांसद सम्मेलन सम्पन्न – Sagarmathapana:: Online News Portal

पाँच बुँदे आह्वानसहित हिन्दुकुश हिमालय सांसद सम्मेलन सम्पन्न

   २०८२ भाद्र ४ गते  

काठमाडौं।पहिलो पटक नेपालमा आयोजित हिन्दुकुश हिमालय सांसद सम्मेलन २०२५ पाँच बुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा भदौ २ र ३ गते काठमाडौंमा सम्पन्न सम्मेलनले जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधता संरक्षणका क्षेत्रमा तत्काल कार्यान्वयन योग्य कदम चाल्न क्षेत्रीय सहकार्य गर्नुपर्नेमा जोड दिएको छ।

‘प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तानका सांसदहरूको सहभागिता थियो।

समापन सत्रमा संयोजक एवं समिति सदस्य वीरबहादुर बलायरले सम्मेलनका निष्कर्ष सार्वजनिक गर्दै हिन्दुकुश हिमालय क्षेत्र जलवायु संकट, प्रदूषण र जैविक विविधताको क्षयजस्ता समस्याले जुझिरहेको भन्दै यसले समुदाय र पारिस्थितिकी प्रणालीमा गम्भीर चुनौती थपेको बताए।

सम्मेलनले भावी पुस्ताको सुरक्षित भविष्यका लागि जलवायु सहनशीलता, स्वच्छ वायु र जैविक विविधता संरक्षणलाई प्राथमिक प्राथमिकता बनाउनुपर्ने निष्कर्ष निकालेको छ। साथै सांसदहरूको विधायिकी र निगरानी भूमिकालाई प्रभावकारी बनाएर क्षेत्रीय एकता, समावेशी विकास र दिगोपनाका लागि सहकार्य गर्न आह्वान गरिएको छ।

पाँच बुँदे आह्वान

१. हिन्दुकुश हिमालय सांसद सम्मेलनलाई नियमित आयोजना गर्ने।

२. क्षेत्रीय संवादका लागि ‘हिन्दुकुश हिमालय सांसद मञ्च’ स्थापना गर्ने सम्भावना खोज्ने।

३. जलवायु परिवर्तन, जैविक विविधता र वायु गुणस्तरसँग सम्बन्धित नवीनतम वैज्ञानिक प्रमाण, अनुभव र उत्कृष्ट अभ्यास आदान–प्रदान गर्ने।

४. सांसदहरूको निगरानी तथा नीति निर्माण क्षमतालाई सबल बनाउने।

५. दोस्रो सम्मेलनलाई आपसी सहमतिअनुसार उपयुक्त मिति र स्थानमा आयोजना गर्ने।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै