राष्ट्रपति पौडेलले जलवायु संकटविरुद्ध साझा प्रयासमा जोड दिए
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन र वातावरणीय संकटको सामना गर्न सबै क्षेत्रले मिलेर काम गर्नु आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौँमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा आयोजित “हिन्दुकुश–हिमालय पार्लियामेन्टेरियन्स मिट २०२५” कार्यक्रममा उनले हिमालदेखि समुद्री तटसम्म सबै वासिन्दाहरूको भविष्य साझा भएको स्मरण गराउँदै दिगो विकास र वातावरण संरक्षणमा सांसद तथा नागरिकको सक्रिय भूमिकामा जोड दिएका छन्।
राष्ट्रपति पौडेलले भने, “हाम्रो जीवनयापनको आधार बनेका हिमालको पानी, वनबाट प्राप्त अक्सिजन र कृषियोग्य भूमि संकटमा छन्। यसले दुई अर्बभन्दा बढी मानिसको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष असर पारिरहेको छ।” उनले जलवायु–मैत्री कानुनी संरचना निर्माण, वायु प्रदूषण नियन्त्रणका मापदण्ड तयार गर्ने र जैविक विविधता संरक्षणका लागि आवश्यक कानुनको व्यवस्थापन आवश्यक रहेको बताए।
उनले संसदलाई कार्यक्रमहरूको कार्यान्वयन, स्रोतको पारदर्शिता र परिणामको मूल्याङ्कनमार्फत जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधताको ह्रास अब केवल वैज्ञानिक प्रतिवेदनको विषय नभई दैनिक जीवनको वास्तविकता बनेको उनले बताए।
राष्ट्रपतिले सदस्य राष्ट्रहरूको योगदान र स्थानीय तहको पहलको प्रशंसा गर्दै भने, “राष्ट्रीय निकुञ्ज र संरक्षित क्षेत्रको विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण, सार्वजनिक यातायात सुधार, विद्युतीय सवारी साधन प्रवद्र्धन र उद्योगको उत्सर्जन नियन्त्रण महत्वपूर्ण कदमहरू हुन्।”
पेरिस सम्झौतामा भएको १.५ डिग्री सेल्सियसको तापमान वृद्धिलाई सीमित गर्ने प्रतिबद्धतालाई लागू गर्न प्रत्येक देश र समुदायले योगदान पु¥याउनुपर्नेमा उनले जोड दिएका छन्। उनले हिमनदी पग्लनु, बाढी र पहिरोको बढ्दो खतरा र त्यसको मानव जीवनमा प्रभावबारे पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउँदै भविष्यमा निरन्तर छलफल र बहस जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।












