दुर्गा प्रसाईको घोषणा : ‘लिङ्देनले धोका दिए,अब नयाँ राजनीतिक दल बनाउँछु’
काठमाडौं।व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कडा आक्रोश प्रकट गरेका छन्। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा लिङ्देनले विश्वासघात गरेको दाबी गरे।
प्रसाईंले लिङ्देनमाथि “भारतबाट चोरीका गाडी ल्याएर बिर्तामोडमा काटेर बेच्ने काममा संलग्न” भएको आरोप समेत लगाए। “मलाई बैंक ठग भन्थे, तर अब उनले गरेको धोका र कर्तुतबारे जनतालाई थाहा पाउनुपर्ने समय आएको छ,” उनले भने।
यससँगै प्रसाईंले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। राजनीतिको रहर नभए पनि परिस्थिति र भ्रष्टाचारविरुद्ध लड्न बाध्य भएकाले पार्टी बनाउने निर्णय गरेको उनले बताए।
उनका अनुसार, मुलुकको वर्तमान अवस्थाले आफूलाई व्यवसायी मात्र भएर बस्न नदिएको हो। “अब मेरो परिवार भन्दा अघि नेपाल र नेपालीलाई प्राथमिकतामा राख्नेछु,” प्रसाईंले भने।
छिट्टै नयाँ दलको नाम सार्वजनिक गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए।












