१४ महिनापछि भारत भ्रमणको औपचारिक निमन्त्रणा पाए प्रधानमन्त्री ओलीले – Sagarmathapana:: Online News Portal

१४ महिनापछि भारत भ्रमणको औपचारिक निमन्त्रणा पाए प्रधानमन्त्री ओलीले

   २०८२ भाद्र २ गते  

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद सम्हालेको १४ महिनापछि भारत भ्रमणको औपचारिक निमन्त्रणा पाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिएका हुन्।

विदेशसचिव मिश्रीले सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटका क्रममा सो निमन्त्रणा हस्तान्तरण गरेका थिए। भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल पनि सहभागी थिए।

भेटमा दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, आपसी सम्बन्धको सुदृढीकरण तथा विभिन्न द्विपक्षीय मुद्दामा छलफल भएको बताइएको छ। भ्रमणको ठ्याक्कै मिति भने दुवै पक्षबीच सहमति जुटेपछि मात्र सार्वजनिक गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

भारतीय विदेशसचिव मिश्री दुईदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै