तीज विचार–विमर्श’:परम्परामा सुधार र रुपान्तरणको साझा आह्वान
काठमाडौं।नेपाल बौद्धिक परिषद् महिला विभागले सामाजिक सांस्कृतिक रुपान्तरण लाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ विशेष मोडलमा ‘तीज विचार–विमर्श कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रममा मंचीय औपचारिकता हटाइ विचार–विनिमयलाई मात्र केन्द्रमा राखेर छलफल गरिएको थियो ।
परिषद्की प्रचार सचिव डा. टीका ढकालले तीज पर्वको ऐतिहासिक परम्परा, सामाजिक विभेदका पक्षहरू र नयाँ पुस्तामा सांस्कृतिक हस्तान्तरणका चुनौतीबारे अनुसन्धानमूलक प्रस्तुति दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) उपाध्यक्ष अस्ठ लक्ष्मी शक्य, एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, परिषद् अध्यक्ष ई. गजेन्द्र थपलिया, सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी, एमाले केन्द्रीय सदस्य रचना खड्का, ललितपुर महानगरकी उपप्रमुख मञ्जु शक्यलगायतका वक्ताले तीजलाई सामाजिक समानता, सांस्कृतिक सरलीकरण र आर्थिक सशक्तिकरणसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
सक्रिय अन्तरक्रिया, प्रश्नोत्तर र सहभागीहरूको विविध दृष्टिकोणले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो । परिषद् सदस्य गीता अधिकारीले सञ्चालन, कृष्ण शर्माले स्वागत मन्तव्य र विभाग प्रमुख सृजना घिमिरेले अध्यक्षता गर्नुभएको थियो भने धन्यवाद ज्ञापन जुन जागृतिले गर्नुभयो । कार्यक्रमका मोडेरेटरमा परिषद् सल्लाहकार बिधान आचार्य र विशेष अतिथि पूर्वसचिव डा. प्रेम कडेल हुनुहुन्थ्यो ।


कार्यक्रमबाट आएको साझा निष्कर्ष अनुसार :तीज पर्वको नाममा विकृति भित्र्याउनु हुँदैन,यसलाई सरल खुसीयालीसँगै सामाजिक–सांस्कृतिक रुपान्तरण र आर्थिक सशक्तिकरणसँग जोडेर समावेशी बनाउनुपर्छ ।
सहभागीहरूको भनाइअनुसार कार्यक्रम बौद्धिक, सान्दर्भिक र प्रभावकारी बनेको छ ।













