माङसेबुङ गाउँपालिकामा सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग हुँदै – Sagarmathapana:: Online News Portal

माङसेबुङ गाउँपालिकामा सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग हुँदै

   २०८२ भाद्र २ गते  

इलाम-इलामको माङसेबुङ गाउँपालिकाले आगामी दिनमा सरकारी कामकाजमा लिम्बू भाषालाई औपचारिक रूपमा प्रयोग गर्ने तयारी अघि बढाएको छ।

कोशी प्रदेश सरकारले हालै मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने नीति ल्याउने तयारी गरिरहेकै बेला, माङसेबुङ गाउँपालिकाले पनि आफ्नै पहलमा लिम्बू भाषा कार्यान्वयन गर्न लागिएको हो।

गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार, लिम्बू भाषालाई कामकाजी भाषा बनाउनका लागि “भाषिक सहजकर्ता” नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ। यस पदका लागि आवेदन आह्वान गर्दा ६ जना प्रतिस्पर्धीको नाम दर्ता भएको र भदौ ४ गते लिखित तथा मौखिक परीक्षा लिइने गाउँपालिकाले जनाएको छ। नियुक्ति पाइसकेपछि सो सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवाद गर्ने जिम्मेवारी पाउनेछन्।

प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईका अनुसार, नियुक्ति प्रक्रिया “भाषा, संस्कृति तथा ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका–२०७५” र “माङसेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि–२०७४” अनुसार अघि बढाइएको हो।

राष्ट्रिय जनगणना २०७८ अनुसार, माङसेबुङ गाउँपालिकाको कुल जनसंख्या १६ हजार ८१० मध्ये करिब ४३ प्रतिशत लिम्बू र ३३ प्रतिशत राई समुदाय रहेका छन्। जातीय तथा भाषिक संरचना हेर्दा स्थानीय तहले २०७५ सालमै वडा नं. ५ मा लिम्बू भाषा प्रयोग गर्ने निर्णय गरी लागू गरिसकेको थियो। त्यतिबेला पनि एक जना भाषिक सहजकर्ता नियुक्त गरिएको थियो।

अध्यक्ष राईका अनुसार, यसपटक भाषिक सहजकर्ताको नियुक्तिपछि गाउँपालिकाले विशेष औपचारिक कार्यक्रम गरी लिम्बू भाषालाई गाउँपालिकाभर कार्यान्वयनमा ल्याउने छ। उनका शब्दमा, “नेपालमै पहिलोपटक स्थानीय तहबाट नै बाहुल्य समुदायको सम्मान गर्दै लिम्बू भाषा कामकाजी भाषा बन्नेछ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै