काठमाडौंमा क्रिप्टो र हुन्डी धन्दा, चार जना पक्राउ
काठमाडौं।अवैध रूपमा क्रिप्टो र हुन्डी कारोबार सञ्चालन गर्दै आएका चार जना काठमाडौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना नेपाली र दुई जना भारतीय नागरिक रहेका छन् ।
काठमाडौं महानगरपालिका–५, कालोपुल क्षेत्रबाट पक्राउ परेकामध्ये बाराको महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओम प्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह तथा भारतीय नागरिक ३३ वर्षीय विक्रम जयसवाल र ३३ वर्षीय मुन्ना जयसवाल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर शत्रुधन महतोको टोलीले उनीहरूको डेराबाट १५ लाख ३३ हजार नगद बरामद गरेको छ । प्रहरी प्रवक्ता एसपी अपिल बोहराका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले करिब ६ करोड ६ लाख बराबरको क्रिप्टो कारोबार गरेको तथ्य फेला परेको छ ।
पक्राउ परेका व्यक्तिहरूले कालोपुलमै डेरा लिएर हुन्डी तथा क्रिप्टो धन्दा चलाइरहेका थिए । प्रहरीले उनीहरूविरुद्ध आवश्यक कानूनी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।












