जहाँ खाली जग्गा त्यहाँ एमाले : सांसद शेखर कोइरालाको आरोप
काठमाडौं।नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि तीव्र प्रहार गरेका छन्।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’ भन्ने अभिव्यक्ति दिएका हुन्। भूमिसम्बन्धी विधेयकमा कांग्रेस सांसदहरूले प्रस्तुत गरेको संशोधनसमेत छलफल बिना रोकिएको भन्दै उनले आपत्ति जनाए।
उनले गोकर्ण रिसोर्ट, दिवंगत राजा वीरेन्द्रको सम्पत्ति, पोखराको लिचीबारी र गिरिबन्धु टिस्टेटमा एमालेको विशेष चासो रहेको आरोपसमेत लगाए। कोइरालाले भने, “जहाँ खाली जग्गा देख्छ, त्यहाँ एमालेको आँखा पुग्छ। गोकर्ण रिसोर्ट होस् वा लिचीबारी पोखरा, जताततै एमालेकै चर्चा हुन्छ।”
सांसद कोइरालाले भूमि सुधारमन्त्रीमाथि समेत प्रश्न उठाउँदै कास्की जिल्लाकै एमाले कमिटीले राजीनामा दिनुपर्ने माग गरेको स्मरण गरे। उनले सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाउँदै भने, “सांसद नै बिचौलिया बन्न थालेपछि देश कुन दिशातिर जान्छ?”












