नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइने : प्रधानमन्त्री ओली
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सक्रिय सबै सामाजिक सञ्जाललाई अब कानुनी दायरामा ल्याइने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटन गर्दै उनले सबै सामाजिक सञ्जाल प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य कानुनी दायित्व पूरा गर्नुपर्नेमा जोड दिए। उनले यसअघि नै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई यो विषयमा पहल गर्न निर्देशन दिइसकेको उल्लेख गरे।
ओलीले भने, “नेपालमा हुने सूचना प्रविधिसम्बन्धी सबै कारोबारमा सरकारको जानकारी हुनुपर्छ। कानुनको पालना, कर तिर्ने र जनताको हितमा प्रविधिको उपयोग अनिवार्य छ।”
उनका अनुसार, तीव्र गतिमा फैलिएको सूचना प्रविधिले दुर्गम क्षेत्रका बासिन्दासमेत डिजिटल पहुँचमा ल्याइसकेको छ। उनले रुकुमको एक दुर्गम गाउँमा वृद्ध महिलाले फेसबुक चलाउन सिकेको सुन्दा आफू खुसी भएको स्मरण गरे।
प्रधानमन्त्रीले नेपाललाई हरित ऊर्जा र डिजिटल प्रविधिका लागि उपयुक्त गन्तव्यको रूपमा अगाडि बढाउन सकिने बताए। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत विकास र समृद्धिमा योगदान दिन सकिने उनको भनाइ थियो।
उनले गत वर्षदेखि सुरु भएको अनलाइन शिक्षण कार्यक्रममार्फत एक लाख ५० हजारभन्दा बढी एसइई विद्यार्थी लाभान्वित भएको र यसले परीक्षाफलमा सुधार ल्याएको दाबी गरे। मोबाइलको दुरुपयोगबाट बालबालिकालाई जोगाउँदै यसको सकारात्मक उपयोग बढाउन आग्रह गरे।
हालै पारित एआई नीतिलाई सरकारको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गर्दै ओलीले निजी क्षेत्रलाई प्रविधिमा लगानी गर्न प्रोत्साहन दिने बताए। उनका अनुसार सुशासन, विकास र भ्रष्टाचार नियन्त्रणका लागि सूचना प्रविधिको प्रभावकारी उपयोग अपरिहार्य छ।












