पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा, कोशी प्रदेशको स्वास्थ्य सेवामा नयाँ युगको सुरुवात – Sagarmathapana:: Online News Portal

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा, कोशी प्रदेशको स्वास्थ्य सेवामा नयाँ युगको सुरुवात

   २०८२ श्रावण ३१ गते  

मोरङ।दुई दशकभन्दा बढी समयको संघर्ष, राजनीतिक उतारचढाव र प्रशासनिक अवरोध पार गर्दै पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज अन्ततः सञ्चालनमा आएको छ। यस ऐतिहासिक उपलब्धिलाई मोरङ–३ का सांसद तथा नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड र कोशी प्रदेशको दीर्घकालीन विकासको जगका रूपमा चित्रित गरेका छन्।

वि.सं. २०६१/२०६२ तिरै सञ्चालनको तयारी भए पनि जनआन्दोलनलगायत कारण प्रक्रियामा अवरोध आइरहेको यो परियोजना यसपटक डा. शर्मा र डा. शेखर कोइरालाको संयुक्त पहल, निरन्तर संवाद र नीतिगत दबाबका कारण सम्भव भएको हो। सरकारका विभिन्न तह, चिकित्सा शिक्षा आयोग र पूर्वाञ्चल विश्वविद्यालयका प्राविधिक प्रक्रियालाई पूर्णता दिँदै मेडिकल कलेज अब औपचारिक रूपमा सञ्चालनमा आएको छ।

“यो केवल शैक्षिक संस्था मात्र होइन, स्वास्थ्य सेवा, शिक्षा र रोजगारीमा कोशी प्रदेशको नयाँ अध्याय हो,” डा. शर्माले भने। उनका अनुसार लाखौँ नागरिकले अब आफ्नै क्षेत्रमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्।

गत राजनीतिक यात्रामा डा. शर्मामाथि लागेको “सञ्चालन रोक्ने” आरोपलाई यस उपलब्धिले असत्य प्रमाणित गरेको भन्दै स्थानीय नागरिकले उनको पहल र दृढताप्रति आभार व्यक्त गरेका छन्।

यस परियोजनामा साथ दिने प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, राष्ट्रिय सभा सदस्य गोपी अछामी, विश्वविद्यालयका पदाधिकारी तथा स्थानीय नेताहरूलाई डा. शर्माले विशेष धन्यवाद दिएका छन्।

डा. शर्मा प्रतिनिधिसभामा तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। उनका पहलमा नोबेल मेडिकल कलेजमा निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना, देशका सात स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध र मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरणजस्ता कार्य भइरहेका छन्।

स्थानीयवासीका अनुसार, मेडिकल कलेजको सञ्चालनले प्रदेशको स्वास्थ्य, शिक्षा र रोजगारीको स्वरूपमा आमूल परिवर्तन ल्याउनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै