राप्रपामा झडपपछि लिङदेनको चेतावनी:“गुण्डागर्दी र बाहुबलले काम चल्दैन”
काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका असन्तुष्ट युवाहरुलाई स्पष्ट चेतावनी दिएका छन्। बुधबार काठमाडौंमा आयोजित युवा सङ्गठनको जिल्ला अधिवेशनमा झडप भएपछि लिङदेनले गुण्डागर्दी र बाहुबल प्रयोग नगर्न आग्रह गरेका हुन्।
अध्यक्ष लिङदेनले भने, “युवाहरू पार्टीको भविष्य हुन्, र पार्टीको भविष्यसँग हाम्रो भविष्य जोडिएको छ। तपाईंहरू कसैका केटा वा हतियार होइन। कसैको जुठो कुरा लिएर रमाउने तत्व पनि होइनन्। यदि कसैलाई प्रक्रियामा चित्त बुझेको छैन भने त्यसलाई बन्द सत्र वा छलफलबाट टुंगो लगाइन्छ। सहमति नभए मतदान हुन्छ, तर गुण्डागर्दी र बाहुबलबाट कुरा अघि बढ्दैन।”
उनले सबै पक्षलाई शान्तिपूर्ण वातावरण कायम राख्दै अधिवेशनलाई सफल बनाउन सहयोग गर्न पनि अनुरोध गरेका छन्।
झडपका कारण अधिवेशन तत्काल स्थगित गरिएको छ। लिङदेनले स्वयं अधिवेशन स्थगनको घोषणा गरेका हुन्।












