लन्डनमा विश्व आदिवासी दिवस खेलकुद तथा मेला सम्पन्न – Sagarmathapana:: Online News Portal

लन्डनमा विश्व आदिवासी दिवस खेलकुद तथा मेला सम्पन्न

   २०८२ श्रावण २८ गते  

लण्डन-नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको आयोजनामा विश्व आदिवासी दिवसको अवसरमा दुईदिने खेलकुद तथा मेला भव्य रूपमा सम्पन्न भएको छ। सन् २००९ देखि सक्रिय रहँदै आएको नेफिन युकेले प्रत्येक वर्ष ९ अगस्टमा मनाइने यस दिवसलाई यस वर्ष पनि विविध कार्यक्रमसहित मनाएको हो।

पहिलो दिन भलिबल र छेलो प्रतियोगिता आयोजना गरिएको थियो। भलिबलतर्फ युथ टिममा ग्रिनिच टिमले प्रथम स्थान प्राप्त गर्दै १,६०० पाउन्ड नगद जित्यो भने दोस्रो स्थानमा अल्डरसट टिम रह्यो। पुरुष भ्याटरनतर्फ ग्रिनिच भलिबल परिवार विजयी भयो भने स्याङ्जा युके दोस्रो रह्यो। महिला टिमतर्फ मोना युके प्रथम र म्यानचेस्टर टिम दोस्रो बने।

दोस्रो दिन, १० अगस्टमा, विभिन्न जातीय संगठनहरूले परम्परागत भेषभूषासहित झाँकी प्रदर्शन गरे। झाँकी प्रतियोगितामा युके मगर संघ प्रथम, किरात याक्थुङ चुम्लुङ युके दोस्रो र किरात राई यायोख्खा युके तेस्रो बने।

यस अवसरमा दुत पुनलाई ‘आदिवासी वर्ष पुरुष २०२५’ र गंगामाया दुरालाई ‘आदिवासी वर्ष महिला २०२५’ घोषणा गर्दै सम्मान गरियो। धनुषकाँड (आर्चरी) र छेलो खेलका विजेताहरूलाई समेत पुरस्कारसहित सम्मान प्रदान गरिएको थियो।

कार्यक्रम लण्डन नजिकको ग्याम्बरल्याण्डस्थित किरात राई यायोख्खा युकेको आफ्नै परिसरमा सम्पन्न भएको हो। प्रमुख अतिथि पूर्वसंघीय सचिव भक्त दुरासहित विभिन्न समुदायका अगुवा व्यक्तिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपाल र युकेका कलाकारहरूले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए।

हाल नेफिन युकेमा ११ वटा जातीय संगठन आबद्ध छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै