भूमिहीनलाई लालपूर्जा वितरण अभियान तीव्र पार्ने प्रधानमन्त्रीको निर्देशन – Sagarmathapana:: Online News Portal

भूमिहीनलाई लालपूर्जा वितरण अभियान तीव्र पार्ने प्रधानमन्त्रीको निर्देशन

   २०८२ श्रावण २८ गते  

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिहीन नागरिकलाई लालपूर्जा वितरणको कामलाई ऐतिहासिक उपलब्धि बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले आयोगका केन्द्र तथा जिल्ला पदाधिकारीलाई “दुई साताभित्र अपूर्ण रहेका सबै जिल्लास्तरीय संरचना पूर्ण गर्न” निर्देशन दिनुभयो। उहाँले भने, “यो आयोग गठनको उद्देश्य कागजमा मात्र सीमित हुने होइन, प्रत्यक्ष नतिजा देखिने खालको काम गर्नु हो। भूमिहीन र अव्यवस्थित बसोबासीलाई जमिन दिन अब ढिलो गर्न पाइँदैन।”

प्रधानमन्त्रीले सरकारको स्थिरता र दुई ठूला दलबीचको सहकार्यका कारण दीर्घकालीन योजना कार्यान्वयन सहज भएको उल्लेख गर्दै २०८४ सालसम्म गठबन्धन सुदृढ रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले थप गर्नुभयो, “सरकार बनाउने खेल वा अस्थिर गठबन्धनको बाटोमा हामी छैनौँ। यस्तो स्थिर अवस्थामा आयोगलाई काममा कुनै अवरोध हुन दिइँदैन।”

उहाँले भूमिसम्बन्धी कानुन संशोधन वा अन्य सरकारी सहयोग आवश्यक परे तत्काल उपलब्ध गराउने प्रतिवद्धता पनि जनाउनुभयो। साथै, विभिन्न स्वार्थसमूहको दबाबबाट जोगिएर निष्पक्ष र पारदर्शी ढंगले काम गर्न आयोगका पदाधिकारीलाई सचेत गराउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै