प्रधानमन्त्री ओलीबाट नाडा अटो शो–२०२५को उद्घाटन,पहिलोपटक रोबोट र उड्ने सवारीको प्रदर्शन – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओलीबाट नाडा अटो शो–२०२५को उद्घाटन,पहिलोपटक रोबोट र उड्ने सवारीको प्रदर्शन

   २०८२ श्रावण २६ गते  

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ ३ गते राजधानीको भृकुटी मण्डपमा सुरु हुने ‘नाडा अटो शो–२०२५’ को उद्घाटन गर्ने भएका छन्। भदौ ८ गतेसम्म चल्ने यो प्रदर्शनीको यसपटक १७औं संस्करण हो, जसले नाडाको ५०औं वार्षिकोत्सवलाई समेत विशेष बनाउनेछ।

आइतबार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई आधिकारिक निमन्त्रणा दिएका थिए। चौधरीका अनुसार यसपटकको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डका सवारीसाधन, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानका नवीनतम मोडेलहरू प्रदर्शनीमा देखाइनेछन्।

यस संस्करणको विशेष आकर्षण भनेको पहिलोपटक नेपालमै प्रदर्शन हुने UNITREE रोबोट्स र Deepal eVTOL UAV (उड्ने सवारी) हुने जनाइएको छ। यस्तै, पुराना क्लासिक कार र मोटरसाइकल समेटिएको ‘विन्टेज मोटर शो’ पनि हुनेछ।

प्रधानमन्त्री ओलीले नाडाको निमन्त्रणा सहर्ष स्वीकृत गर्दै आधुनिक प्रविधि र नवप्रवर्तनको प्रदर्शनले नेपालको अटो उद्योगमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्। भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय सदस्य मेघराज पौडेल सहभागी थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै