मोहर’ले बक्स अफिसमा सकारात्मक छाप, दर्शकको भीडले हल भरिभराउ – Sagarmathapana:: Online News Portal

मोहर’ले बक्स अफिसमा सकारात्मक छाप, दर्शकको भीडले हल भरिभराउ

   २०८२ श्रावण २६ गते  

काठमाडौं।शुक्रबारदेखि रिलिजमा आएको नेपाली फिल्म ‘मोहर’ले रिलिजको पहिलो तीन दिनमै बक्स अफिसमा सुखद् प्रदर्शन गरिरहेको छ। शुक्रबार औसत ओपनिङ पाएपनि शनिबार भने फिल्मको व्यापार प्रशंसनीय रह्यो।

शनिबार बिहानका शोज सामान्य भए पनि मध्यान्हपछि काठमाडौंदेखि मोफसलसम्मका हलमा दर्शकको भीड बढ्दै गयो। नेपालगञ्जका हलहरूले हिन्दी फिल्मका शो कटौती गरेर ‘मोहर’का शो थपेका थिए भने पोखरा, बुटवल, चितवन लगायतका शहरमा पनि राम्रो व्यापार भएको वितरकहरूले जनाएका छन्।

शनिबार दिनभर फिल्मका निर्देशक ओम प्रतिक, नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह काठमाडौंका विभिन्न हलमा पुगेका थिए। अष्टनारायण हलमा दर्शकको उल्लेखनीय भीड देखिँदा पल शाहले हलमै उपस्थित भएर धन्यवाद ज्ञापन गरे। नायिकाद्धयले दर्शकको सकारात्मक प्रतिक्रिया र उच्च साथले आफूहरू उत्साहित भएको बताए।

आज आइतबार पनि काठमाडौं र मोफसलका हलमा उच्च अकुपेन्सी देखिएको वितरक करण श्रेष्ठले बताए। उनका अनुसार,‘मोहर’ले केही महिनादेखिको नेपाली फिल्मको व्यापारिक खडेरीलाई चिरेको छ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्मलाई चुम्बन जंग शाहीले लगानी गरेका हुन्। यसैबीच, नायक पल शाह आज पूर्वका विभिन्न हलमा दर्शक भेट्न पुगेका छन् भने काठमाडौंका हलमा बेनिशा हमाल र नीति शाह उपस्थित भइरहेका छन्।

फिल्मको वर्ड अफ माउथ बलियो रहेकाले आगामी दिनमा पनि दर्शकको साथ पाउनेमा निर्माणपक्ष आशावादी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै