३१औँ विश्व आदिवासी दिवसमा‘रिमै’टिमको आकर्षक सहभागिता
काठमाडौँ।३१औँ विश्व आदिवासी दिवसको अवसरमा राजधानीको भृकुटी मण्डपबाट सुरु भई विभिन्न स्थान परिक्रमा गर्दै सम्पन्न भएको भव्य र्यालीमा नेपाली चलचित्र ‘रिमै’ टिमले विशेष सहभागिता जनाएको छ। आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न संघ–संस्था, कलाकार, सांस्कृतिक टोली तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखियो।
रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्यालीमा ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई आकर्षक बनायो। कलाकार, निर्माता, निर्देशकलगायत सम्पूर्ण टिम मौलिक पहिचानको जगेर्ना र सांस्कृतिक गर्वको सन्देशसहित सडकमा उत्रिएका थिए। उनीहरूले ब्यानर, प्लेकार्ड र चलचित्रको नाम अंकित पोस्टर बोकेका थिए भने, परम्परागत वाद्ययन्त्रको धुनमा नाचगान प्रस्तुत गर्दै वातावरणलाई झन् उत्साहपूर्ण बनाएका थिए।
टिमका सदस्यहरूले आदिवासी दिवसलाई केवल उत्सव नभई अधिकार, समानता र सांस्कृतिक सम्मानको प्रतीकका रूपमा लिएको बताए। साथै, चलचित्रमार्फत आदिवासी समुदायको कथा, संस्कृति र चुनौतीलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उपस्थित दर्शक र समर्थकहरूले ‘रिमै’ टिमको पहिचानमूलक सहभागिताको प्रशंसा गर्दै चलचित्र हेर्ने उत्सुकता व्यक्त गरेका थिए।
गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सको ब्यानरमा निर्माण भएको ‘रिमै’ भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। खिलबहादुर गुरुङ निर्देशित यस चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ। कथामा गाउँकी गुरुङ युवती धनरुपासँग विवाह गरेर विदेश गएका लाहुरे गाउँ फर्कने प्रसंग देखाइएको छ, जसमा दयाहाङ राईले लाहुरेको भूमिका निर्वाह गरेका छन्।
माथिल्लो गोरखामा छायांकन गरिएको यो चलचित्रले प्राकृतिक सौन्दर्य, संस्कार र ग्रामीण जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरेको छ। ‘कबड्डी’ श्रृंखलामा रुचाइएको दयाहाङ र रिश्माको जोडी यसमा पनि पुनः देखिनेछ।












