४२ देशमा एकसाथ रिलिज हुने ‘कोशेढुंगा’, कविता र पोस्टरसँग प्रचार तीव्र – Sagarmathapana:: Online News Portal

४२ देशमा एकसाथ रिलिज हुने ‘कोशेढुंगा’, कविता र पोस्टरसँग प्रचार तीव्र

   २०८२ श्रावण २६ गते  

काठमाडौँ।बहुप्रतिक्षित नेपाली चलचित्र ‘कोशेढुंगा’को निर्माण टिमले रिलिज मितिनजिकिँदै जाँदा प्रचार–प्रसारलाई नयाँ मोडमा लैजाने घोषणा गरेको छ। दर्शकमा भावनात्मक सम्बन्ध गहिरो बनाउन टिमले हालै विशेष कविता सार्वजनिक गरेको छ, जसको वाचन चलचित्रकी मुख्य अभिनेत्री सुरक्षा पन्तले गरेकी छन्।

कवितामा प्रेम, समर्पण, विछोड र पीडाको भावसँगै, अधुरो सपना र संघर्षपूर्ण जीवनयात्राको संवेदनशील चित्रण गरिएको छ। लिरिकल भिडियोको माध्यमबाट सार्वजनिक यस कवितामा सिनेमाका केही महत्वपूर्ण दृश्य र स्टिल फोटो समेटिएका छन्, जसले पात्रहरूको मनोभाव र कथाको आभास दिलाउँछ। निर्देशक सरोज पौडेलका अनुसार, यसले सम्पूर्ण कथा खुलाउँदैन तर क्रमशः किस्ताबार कथावस्तु दर्शकसामु ल्याइनेछ।

यसैसँगै, निर्माण पक्षले चलचित्रका तीन फरक पोस्टर पनि रिलिज गरेको छ। ती पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, दिनेश काफ्ले र झकेन बिसी लगायतका कलाकारहरू आफ्ना चरित्रको लुक्समा देखिएका छन्। विशेषगरी, एक पोस्टरमा भारी बोकेको सुरक्षाको अभिव्यक्ति र मन्जिलको गहिरो दृष्टिले कथामा नाटकीयपन थपेको छ।

यसअघि चलचित्रको ‘भंगेरा भगेरी’ र ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत सार्वजनिक भइसकेका छन्, जसमा दोस्रो गीत अहिले टिकटकमा निकै लोकप्रिय बन्दै गएको छ।

नरदेवी फिल्म्सको प्रस्तुति र सारंगी फिल्म्सको सहकार्यमा बनेको ‘कोशेढुंगा’ भदौ १२ गतेदेखि नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा आउनेछ। सेभेन सिज इन्टरनेशनलमार्फत अन्तर्राष्ट्रिय बजारमा वितरण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो, जसले यति धेरै देशमा एकसाथ रिलिज हुँदैछ। निर्माण टिमको अपेक्षा छ— यो कदमले नेपाली सिनेमालाई विश्वस्तरमा नयाँ उचाइ दिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै