चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक – Sagarmathapana:: Online News Portal

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक

   २०८२ श्रावण २५ गते  

काठमाडौं-जनै पूर्णिमाको अवसरमा राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक गरिएको छ। पारिवारिक कथा र आम नेपालीको सामाजिक यथार्थलाई आधार बनाएर तयार भएको यस चलचित्रले आर्थिक अभाव, विदेश जाने सपना, संघर्ष र सम्बन्धका उतार–चढावलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

ट्रेलरमा मुख्य पात्र विजय बरालको पात्रको जीवन संघर्ष चित्रित गरिएको छ—बाउको ऋण तिर्न कोरिया जान घरबाट निस्किएका उनी काठमाडौंमै अल्झिन्छन्। ठगी, बाध्यता र विभिन्न कठिन परिस्थितिसँग जुध्दै बाउलाई पक्की घरको सपना पुरा गर्ने प्रयासमा उनी आफ्नो जिन्दगी अरूको हातमा सुम्पिन बाध्य हुन्छन्। यसबीचमा मिरुना मगरसँगको प्रेमकथा र दिदी केकी अधिकारीलाई भिनाजुले दिने पीडाले कथालाई थप भावनात्मक बनाएको छ।

हिमाल न्यौपाने निर्देशित चलचित्रमा मिरुना मगर, विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ। असोसियट निर्देशकको भूमिकामा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत रहेका छन्।

पेपरक्लिप ब्यानरमा बनेको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको योगदान छ भने नवीन गुरुङ डीओपी र कृष्ण परियारले सिनेमेटोग्राफी सम्हालेका छन्। वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।

‘पूर्णबहादुरको सारंगी’ जस्तो सफल चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउने यो वर्षको पहिलो चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै