भक्तपुरमा कांग्रेस महामन्त्री गगन थापाको भनाइ : “पार्टीमा शुद्धीकरण,आत्मसमीक्षा र आत्मविश्वास आवश्यक”
भक्तपुर-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वासको पुनःस्थापना आवश्यक रहेको बताएका छन्।
आइतबार बालकोटमा आयोजित स्व. श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा सम्बोधन गर्दै थापाले आत्मविश्वास गुमाएको पार्टीले देश सम्हाल्न नसक्ने स्पष्ट गरे। उनले देशका समस्याको समाधान दिनुपर्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको भन्दै सबैलाई आत्मसमीक्षासहित पार्टी सुदृढीकरणमा लाग्न आह्वान गरे।
“नेपाली समाजमा असन्तुष्टि छ, नागरिक रिसाएको अवस्था छ। यसबाट देशलाई बाहिर निकाल्ने काम कांग्रेसको काँधमा छ,” उनले भने, “पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको छ। त्यो डर त्यागेर अग्रज नेताको मार्गनिर्देशनअनुसार कांग्रेसलाई बलियो बनाउन लागौँ।”
थापाले युवाहरूको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझ्नुपर्ने र त्यसलाई कदर गर्दै देशभित्र अवसर सिर्जना गर्न कांग्रेसले अग्रसर हुनुपर्नेमा समेत जोड दिए।












