दलको नेता पद गुमाए पनि मुख्यमन्त्री लामाबाट नयाँ मन्त्री नियुक्ति
काठमाडौं-नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको पद गुमाइसकेका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्।
नियुक्त मन्त्रीहरूमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ छन्। लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने श्रेष्ठ र गुरुङको जिम्मेवारी अझ तोकिएको छैन।
बागमती प्रदेशमा कांग्रेसको भागमा परेका पाँच मन्त्रालय केही समयदेखि मन्त्रीविहीन थिए। यसअघि साउन ९ गते चार मन्त्री र साउन १३ गते एक मन्त्रीले लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दै राजीनामा दिएका थिए। सोही दिन भएको मतदानमा लामाविरुद्ध २२ मत परेको थियो भने पक्षमा १५ मत मात्र प्राप्त भएको थियो। बहुमतले प्रस्ताव पारित भएपछि लामा दलको नेता पदबाट हटिएका हुन्।
यता, कांग्रेस बागमती संसदीय दलले आज नयाँ नेता चयन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार बिहान ८ बजे मतदाता नामावली प्रकाशन, १० देखि ११ बजे उम्मेदवारी दर्ता, र दिउँसो २ देखि ३ बजेसम्म मतदान हुनेछ। अविश्वास प्रस्ताव गर्ने पक्षबाट इन्द्रबहादुर बानियाँ नेताका उम्मेदवार हुने पक्का भएको छ। लामाको पक्षबाट भने उनी स्वयं वा अन्य उम्मेदवार उठ्नेबारे अन्तिम निर्णय भइसकेको छैन।
दलको नेता गुमाए पनि मुख्यमन्त्री लामा पद नछोड्ने अडानमा छन्।












