२२ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, कान्छाराम कन्स्ट्रक्सन पनि सूचिमा – Sagarmathapana:: Online News Portal

२२ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, कान्छाराम कन्स्ट्रक्सन पनि सूचिमा

   २०८२ श्रावण २३ गते  

काठमाडौं-सम्झौताअनुसार काम नगरेका कारण २२ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै सम्बन्धित कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

सार्वजनिक खरिद ऐन, २०६४ को नियम १४१ को उपनियम (४क) बमोजिम यो प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ। सरकारी निकायहरूको सिफारिसपछि यी कम्पनीहरूलाई कालोसूचीमा राख्ने तयारी गरिएको हो।

सडक डिभिजन कार्यालय, नुवाकोटले गरिबी उद्धार, ज्ञानेन्द्र घले एण्ड कुमार निर्माण सेवा, गौरीमाई निर्माण सेवा, लेबेन निर्माण सेवा, मनकामना कन्स्ट्रक्सन प्रा.लि., शिलाकन्यादेवी कन्स्ट्रक्सन प्रा.लि., र लाङलाङ/मानेज्यार्सा जे.भी. लगायतका कम्पनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।

त्यस्तै, सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइ (श्रीमहल, पुल्चोक, ललितपुर) ले कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो।

कान्छाराम कन्स्ट्रक्सन, नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइँ राज्यमन्त्री **पूर्णबहादुर तामाङ (कान्छाराम)**को स्वामित्वमा रहेको कम्पनी हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै