२४ घण्टाभित्र सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था, अब १० वर्षसम्म मान्य
काठमाडौं-यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) प्रणालीमा ठूलो सुधार ल्याउँदै २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ। विभागका महानिर्देशक राजिव पोखरेलका अनुसार यो सेवा सुरक्षाकर्मी, वैदेशिक रोजगारमा जानेहरू मात्र नभई अन्य इच्छुक नागरिकले पनि पाउने छन्।
१० वर्षे मान्यता, नविकरण झन्झट अन्त्य अब सवारी चालक अनुमति पत्रको मान्यता अवधि पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ। यसले नविकरणको झन्झट कम गर्ने विभागको विश्वास छ। पोखरेलका अनुसार, “लाइसेन्स नविकरणको दबाब घटाएर जनतालाई सहज बनाउने उद्देश्यले यो निर्णय लिइएको हो।”
डिजिटल लाइसेन्स नागरिक एपमै
नयाँ सुधार अनुसार, अब सवारी चालक अनुमतिपत्र नागरिक एप मार्फत डिजिटल फारम मा उपलब्ध हुनेछ। यसले फिजिकल प्रिन्टको आवश्यकता कम गर्नेछ र सेवाग्राहीलाई थप सहज बनाउनेछ।
२३ लाख लाइसेन्स छपाइ प्रक्रिया तीव्र
हालसम्म बाँकी रहेका करिब २३ लाख पुराना लाइसेन्स आगामी तीन महिनाभित्रै छापिने विभागले जनाएको छ। यसका लागि सुरक्षा छपाइ (Security Printing) सँग सहकार्य भइरहेको छ। बागमती प्रदेशले आफ्नै प्रिन्टिङ मेसिन खरिद गरिसकेको छ र आन्तरिक प्रणाली निर्माणको कार्य अघि बढाइएको छ।












