२ वर्षभित्र भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बन्ने : अर्थमन्त्री पौडेल
काठमाडौं-उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दुई वर्षभित्र काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण हुने घोषणा गरेका छन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले बजेटमा उल्लेख गरेका कार्यक्रमहरू कार्यान्वयन गर्न दृढ रहेको बताए।
“बजेटमा हामीले कार्यान्वयन नगर्ने कुनै विषय उल्लेख गरेका छैनौं। एक वर्षमा नसकिएला तर दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउनेछौं,” मन्त्री पौडेलले भने, “यसले उद्यमी तथा व्यवसायीहरूलाई आफ्ना उत्पादन तथा प्रविधि प्रदर्शन गर्न सहज वातावरण बनाउनेछ।”
उनले यस्तो केन्द्रले देशको आर्थिक गतिविधिमा पनि टेवा पुर्याउने विश्वास व्यक्त गरे। मन्त्री पौडेलका अनुसार सरकारले प्रदर्शनी स्थल र त्यहाँ आयोजना हुने विविध कार्यक्रमहरूमा चासो दिने र सहकार्य गर्ने तयारी समेत गरिरहेको छ।
साथै, उनले सरकार दिगो आर्थिक वृद्धिको लक्ष्यसहित सडक पूर्वाधार विकासमा समेत प्राथमिकता दिइरहेको जानकारी दिए।












